आमा र कुतुब मिनार -सिर्जना शर्मा

बिशेष विचार/ब्लग सामाजिक सञ्जाल
  1. आमा र कुतुब मिनार : एउटा संस्मरण यस्तो पनि ।
    ………………………………………….
    कुरा 2018 दिसम्बर ताकाको हो । स्थान दिल्ली ।
    आमा र म काशीको 15 दिने यात्रा गरेर विभिन्न देवस्थल घुमिसकेपछि दिल्ली हानियौँ । मेरी विद्यार्थी जीवनकी साथी इन्दिरा Indira Sharma र उनका जीवनसाथी वा मेरा दाइ Chakra Pani Sharma सित 15 वर्षपछि भेट भयो । दिल्लीको वास्तविक नाम देहली रहेछ । यहाँ शीतकाल लागिसकेका कारण निकै कुहिरो र चिसो बढिसकेको थियो । एकदिन हाम्रो यात्रा कुतुब मिनारतिरको थियो । आमा निकै उत्साहित हुनुहुन्थ्यो ।
    बारम्बार हामी आमालाई सोधी रहेका थियौँ – ‘आमा हामी कहाँ जाने रे?’
    आमा उत्साहित भएर सानी केटी जस्तै उत्तर दिनु हुन्थ्यो – ‘कुतुक मिनार । तर नानी यो कुतुक मिनार के हो?’
    इन्दिरा र म डल्लो परेर मुटु मिची मिची हाँस्दै थियौँ । आमा जिल्ल ।
    फेरि मेट्रो चढेपछि पनि सोध्यौँ ‘आमा कहाँ जाने रे?’
    आमा- ‘कुतुक मिनार ।’ हामी गललल हाँस्छौँ । चक्र दाइ पनि जुँगामा ताउ दिँदै हाम्रो हाँसोमा आफ्नो स्वर मिलाउँनुहुन्छ ।
    अन्तत: हामी आइपुग्छौँ आमाको दीर्घप्रतीक्षित ‘कुतुक मिनार’ अर्थात् इल्तुतमिसको चिहान भएको भारतीय पुरातत्त्व धरोहर कुतुब मिनार । वास्तवमा कुतुब मिनारबारे धेर थोर पढेको भरमा आमालाई यसको कथा भन्न म त्यसबेला सक्षम थिएँ । “आमा ! यो कुतुब मिनार हो । यहाँ इल्तुतमिस भन्ने मानिसको चिहान छ । मोहम्मद गोरी भन्ने लुटेराले थुप्रैपल्ट दिल्लीका मठ मन्दिर लुटेको थियो । इशाब्द 1199 मा उसैको दास कुतुब-उद-दिन ऐेबकले 27 वटा भारतीय हिन्दू र जैन मठ-मन्दिर भत्काएर त्यहाँका इँटा, कुँदिएका स्तम्भ आदिद्वारा यो मस्जिद बनाएको हो’ भनेर पनि बुझाएँ । भारतका बराह मिहिर नामक विद्वान् ज्योतिषले ग्रह नक्षत्र अध्ययन गर्न बनाएको ध्रुव स्तम्भलाई नै यसरी कुतुब मिनारमा परिणत गरेको कुरा सुनेर आमा दङ्ग पर्नुभयो । बराह मिहिर चन्द्रगुप्त द्वितीयका नवरत्नमध्ये एक हुन् भनेर आमालाई भन्दा 500 इशाब्दका यी विद्वान् र उनको ज्योतिष कस्तो भव्य थियो भनेर पनि आमालाई सुनाएँ । वास्तवमा “कुतुब मिनार भनेको अरबीमा हो, यसको अर्थ ध्रुव स्तम्भ भन्ने नै हो” भनेर भन्दा चक्र दाइले भन्नु भयो -‘मानिसले इतिहास बिर्सँदा अर्थको अनर्थ लाग्ने रहेछ । कुतुब-उद-दिन-ले बनाएकै कारण कुतुब मिनार भनिएको हो भन्ने जनधारणा छ । तर यसो होइन पो रहेछ ।”
    मैले भनेँ- “हो , इतिहासको हेक्का यसैले सबैले राख्न सके यस्ता गलत प्रचारबाट जोगिइने छ ।”
    उप्रान्त निकैबेर ध्रुव स्तम्भ वरिपरि हेरियो । घुमियो । फोटो खिँचियो । भारतीय कला कौशल तथा स्तम्भ बनाउने कारीगढी देखेर मुग्ध भइयो । इटा, ढुङ्गामा कुँदिएका जीवन्त मुर्ति र कलाकारिताले भारतको समृद्ध कौशल दर्साइरहेका थिए । म मौन भएर इल्तुतमिस तथा अन्यका चिहान हेरेर सोच्न बाध्य बनेँ – “कस्तो भव्यतापूर्ण थियो होला तिनको जीवन । कति क्रुर र परपीडक थिए होलान् ती? कसरी दिल्ली लुटे होलान् ? कसरी सामान्य जनगणलाई मानिस नठानेर निरपराधलाई पनि दण्ड दिन्थे होलान् । कसरी तिनले बाहुबल र धनका लाभलाई जीवनको सार बनाए होलान् ? तर आज? आज त माटो बनेका तिनका चिहानमा विश्वभरिका मानिसले फोटो खिँच्छन्, हल्ला गर्दछन्, कुल्चिन्छन् । फोहोेर गरिदिन्छन् र बाँदरे प्रवृतिद्वारा आफ्ना आदिम कुण्ठा दर्साइरहेका छन् । हामी कुनै शासक, राजा वा सम्राटको चिहानमाथि छौँ भनेर कसैले सोचेका छैनन् ।” जिउँदा हुँदा कस्ता जल्दा बल्दा राजाहरूको समय सकिएपछिको हविगतले एकैछिन घोरिएर सोच्न बाध्य बनायो – “समयभन्दा बलवान् के नै पो रहेछ र? सबै किसिमका वैभव, घमण्ड, धन सम्पत्ति आदि सबै क्षणिक र नाशवान् नै पो रहेछ । तेरो-मेरो भनेर घृणा पालेर आजीवन सञ्चय गरेका यस्ता लालसा खै समयको गर्भमा कसरी भासिँदा रहेछन्।” नश्वर शरीरको क्षणिकताबोध चिहानमाथि गएपछि अझ तीव्र भइरहेको थियो । हुनत काशीको हरिश्चन्द्र घाट वा पशुपतिको आर्यघाटमा जलिरहेका लास र तीव्र मानव डढेका गन्धमाझमा रुमलिँदा पनि समय समय म यस्ता बोधबाट गुज्रने गर्थेँ । तर आजको बोध भने मौन सुतेका राजाका चिहान, कोलाहलमाझमा यसरी पस्रेको मौनता र इतिहासका काला पाना लेख्नेहरूको भत्केका चिहानले छुट्टै बोध दिइरहेका थिए ।
    त्यसपछि निकै बेर घुमेर निस्कँदै गर्दा आमाले आफ्नो पवित्र बोध सुनाउनु भयो – “नानी ! वराह मिहिरले 27 नक्षत्रका प्रतिनिधि स्वरूप निर्माण गरेका मन्दिर भत्काएर शक्ति प्रदर्शनका लागि बनाएको यो कुतुक मिनार साँच्चै अद्भूत लाग्यो । दिल्ली त चिहानै चिहानले भरिएको स्थल रहेछ ( यसअघि बापू, इन्दिरा गान्धी, राजीव गान्धी आदिको समाधि स्थल घुमिसकेका थियौँ) । देवस्थल काशी, काठमाडौं रहेछन् भने चिहानै चिहान हेर्न दिल्ली आउनै पर्ने रहेछ । तर मैले नबुझेको कुरो त्यो गोरी वा घोरीको दासले किन त्यतिका मन्दिर भत्काउनु पर्थ्यो आफ्नो शक्ति देखाउन ? अन्य शक्ति स्थल वा स्तम्भ बनाउन कसले रोक्थ्यो तिनलाई ? मानव प्रवृत्ति भनेकै अर्कालाई सताएर, तर्साएर आफ्नो वर्चस्व देखाउनु रहेछ । हिंसा र हत्याले वीरताको इतिहास लेख्न तम्सनेहरू इतिहासकै सबैभन्दा कायर व्यक्ति हुन् जस्तो लाग्यो नानी । अर्काको देवस्थल, घर र जीवन भत्काउनेहरूले आजको स्थितिमा आफू पनि एकदिन पुग्छु भनेर के कल्पना गरेका थिए होलान् त? जीवनमा अरूलाई रुवाएर हाँस्न खोज्नेले खै के अर्जन्छन् र है ? अरूलाई लडाएर, हेपेर, दलनमा पारेर कस्तो भव्यता निर्माण गरेका होलान् ? समय र परिवेश भिन्न छ तर यस्ता मानसिकता अझै जीवितै छ नि नानी ।”
    ओहो ! आमाका यस्ता जीवनबोध सुनेर हामी तीनैजना दङ्ग पर्यौँ ।
    फर्कँदा पनि मेट्रोमा इन्दिराले आमालाई सोधिरहेकी थिइ- “आमा हामी आज कता पुग्यौँ?”
    आमा निर्बोध उत्तर दिइरहनु भएको थियो- “कुतुक मिनार” !
    हामी गललल हाँस्न थाल्यौँ, मेट्रो अघि बढि रह्यो । समय पनि गतिवान् नै थियो…
    आज 2 वर्ष बितेछ ….
    समय गतिवान् नै छ यथावत् …
    दिल्लीको मेट्रोकै तालमा !!
    (- सृजना शर्मा, बेलतोला, 15-12-2020)
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =