कविता : कुस्तीबाज खेलाडी

विविध

-नारायणप्रसाद न्यौपाने

अनेकौं पहरेदारको बिचमा
घरको बरण्डा छेउमा बसेर
क्षितिजलाई नियाल्दै
ठूलो सपना देखेका,
बलशाली दुबै कुस्तीबाजको
अचानक जम्काभेट भो
टुकुचाको त्यो रेष्टुरेन्टमा ।

बाहिर सिमसिम पानी परिरहेको
रातको बसाइले मनै तानियो,
शुरापानको मस्तीमा लपेटिदै
भलाकुसारी भो केही क्षण
आपसी नीति र नियम पनि
खासै फरक रङ्ग देखिएन
जे–जसरी भए पनि दुबैको
बोसो मात्रै बढाउने त हो
सुनसान त्यो मध्यरातमा,
दुबैजनाले, आफ्नो गला जोडे ।

अर्कोदिन खुला चौरमा उभिएर
चर्कोचर्को स्वरमा उफ्रिदै–उफ्रिदै
दुबैजनाले आ–आफ्नो डाको छोडे,
अबत, हामी एक भयौं !
यहाँ जसले हामी माथि जाइलाग्छ
कतैबाट गिद्देदृष्टि नियाल्छ
अनि, अवरोध सिर्जना गर्यो भने,
हात खुट्टा बाँधेर राखिन्छ
बस्ती–बस्तीमा आगो बालिन्छ
उठीबास बनाएर नाङ्गेझार पारिन्छ
आफ्नो मुठ्ठी बजार्दै टुकुचाले बोल्यो–
“अबको पचास वर्षसम्म त
हामी निकै बलिया भयौ” !
अब कतैबाट हावा लागे
सारा रुख काटेर नाङ्गो बनाइने छ
धेरै पटक उफ्रिदै कुर्लिए
तालीहरु बजिरहे, बजिरहे ।

बिर्खमान नजिकै उभिएर सुनिरहेको थियो,
उसले वरपर चारैतिर नियाल्यो
चिनेका अनुहार कतै देखिएनन्
गलल्ल सबैजना अट्टहास हाँसेका थिए
खुसियालीले उन्मत्त भएर
मानौं, कुनै चाड मनाइरहे जस्तो,
ती, आपसमा लिलामी भएको देखेर
प्याच्च मुख खोलिहाल्यो बिर्खमानले
हेरौंला ! यो पाच वर्ष टिकेछ भने त के ?
ए, यो के भन्छ फेरी
दुई चारजनाको आवाज सुनेपछि त
बिर्खमान कुलेलम ठोक्यो ।

त्यसपछि दुई चारदिन
सबैतिर भोज–भतेर पनि राम्रै चल्यो
कुस्तीबाजहरु भोजको डकार मार्दै
कहिले लेन्डुप बने त कहिले के ?
क्यारेम्बोर्डको गोटीजस्तै नाचिरहे,
खेल्ने र खेलाउनेको जत्थाभित्र
रसपानमा मस्तसँग भुलिरहे,
आफ्नो घरबार र समाज पनि
वेवास्ता नै गर्न थाले ।

जब, कुस्तीबाजहरुको आलोचना हुन थाल्यो
अलिकति होस खुलेपछि
एकले अर्कोलाई दोषारोपण गर्न थाले
मैले होइन, तैले नै हो,
तैले हो, मैले होइन भन्दै
पुनः नुन बाराबार र पानी बाराबार भो
छिमेकीहरु नाचिरहे ।

अबत, घर नै एउटै छ
दुबैजना अटाउनु पर्ने त्यहीँ
मन पटक्कै मिल्न सक्तैन,
पालेको कुकुरले टोक्ला भन्ने डर
पुरानो घर जाऊ, लिलाम भैसक्यो
एउटै घरमा, त्रासलाई बोकीबोकी
शङ्काको घेरामा बस्नुपर्ने ।

नयाँ खेलाडी बनेर
छिमेकीले लगाएको कुरा बुझ्दै–बुझ्दैनन्
पटक–पटक दाना पानीले किनेको
मुख नै खोल्दै–खोल्दैनन्
न त घर नै छाडेर जान सक्छन् ?
न त अर्को बनाउन नै ?
खुला चौरमा जब भेटिन्छन्
अनि, आ–आफ्ना भाव अलाप्न थाल्छन्
बिरहका वेदनाहरु ओकल्दै
नाडी मिचामिच गर्दै
एकले अर्कोलाई पोलापोल गर्छन्
एउटाले अर्कोलाई सिध्याउने खेलमा
हार, गुहार मागेका छन्,
टुकुचाका कुस्तीबाज, खेलाडीहरु ।

-सुनवल १२ नवलपरासी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *