कविता :- त्यो बालापन

विविध

-नारायणप्रसाद न्यौपाने

कति सुन्दर ती नयनहरु
मनै निश्चल रहेको,
कोमल हृदयको भाव
सबैको बन्ने त्यो प्रिय पात्र,
न त लोभ नै छ कतै
न त दम्भले नै भरिएको,
निर्मल भावले नियाली
विस्तारै मस्तक उठाउँदै
संसारलाई चियाइरहेछ
ममताको न्यानो काखमा ।

अगाडि देखिएका दृश्यहरु नियाल्दै
मन्द मुस्कानलाई पोख्दै
गम्भिर भावले बोलिरहेछ
अनि, डाकिरहेछ यत्रतत्र सबैमा
भोक प्यास र निद्रालाई छलेर
समीपमा लुटपुटिदै
रमाउँछ विश्राम गर्न ।

यत्रतत्र सर्वत्र बसेका
सबै आफ्ना मित्र हुन
हुँदैनन् कोही अपरिचित पनि
कसैको काखमा लुटपुटिदै
विचरण गर्न पाए हुने
देखेको मात्र संसार हो भन्दै
भोक निन्द्राले नच्यापेसम्म
रमाइरहन्छ खेल्नमा नै,
न कुनै पश्चाताप छ विगतको
न त चिन्तन भविष्यको,
छ त केवल वर्तमानको ।

कसैप्रति वैरभाव नरही
शुद्ध र पवित्र भावले सजिएको
खेल्न र भुल्न पाए मख्ख छ,
उसले नचिनेको कोही छैनन्
अनि, चिनेको पनि कोही छैनन्
छन् ती सबै आफन्त नै,
अलिकति मुस्कानको भाव मिल्यो भने
साह्रै खुशी र आनन्दित भो
बेखुशी रह्यो भने रोए मात्रै हुने
ऊ रुदा सबैका आँखा रसाउने
कति, प्रिय पात्र छ ऊ ।

एक क्षणको उसको रुवाइले
सारालाई तर्साइदिन्छ
सानो मुस्कानले हँसाइदिन्छ
प्यारो भएकैले होला
कति शक्तिशाली छ ऊ,
उसका हरेक चाहका लागि
सम्पूर्णको ध्यान केन्द्रित हुनुपर्ने
उसकै वरिपरि नियाली रहनु पर्ने
कति निश्चल र पवित्र छ
त्यो बालापनको जिन्दगी ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =