काठमाडौं उपत्यकाका रचनाकार श्रीकृष्ण

बिशेष

 विष्णुप्रसाद पोखरेल

काठमाडौं उपत्यकाको विकास क्रमका बारेमा परापूर्वकालदेखि नै भौतिक तथा सांस्कृतिक रुपमा विभिन्न तर्क प्रस्तुत हुँदै आइरहेका छन्। प्राचीन कालमा उपत्यका ठूलो सरोवर रहेको विषय यहाँ भएका अनुसन्धानहरूले प्रमाणित गरेको विषय हामी स – साना हुँदा इतिहासको पठनपाठनका क्रममा पढाइने गरिन्थ्यो। इतिहाससँग सम्बद्ध विषयहरूलाई केलाउँदा तीनवटा मत स्थापित भएको देखिन्छ र यी तीन पक्षमध्ये भौगोलिक रुपमा माटोको सतह वृद्धि पछि पानीको निकास र वस्ति विकास , भगवान श्रीकृष्णद्वारा सुदर्शन चक्रबाट उपत्यकाको पानी निकासा र मञ्जुश्रीले खड्गद्वारा चोभार छेदनगरी पानी निकासा गराएपछि वस्ति विकास भएका विषयहरू रहेका छन्। तर्क र अनुसन्धानका आधारमा सबै बिषयहरू मनन योग्य छन् होला तर इतिहासलाई जीवन्त राख्न र कालजयी बनाउन ऐतिहासिक तथ्य , तर्क र प्रमाणलाई आधार मानी अनुसन्धान गर्नु जरुरी छ। निचोडमा नपुग्दाको अवस्थामा सबैलाई स्वीकार गर्दै तदनुरुपका विषयलाई संरक्षण गर्नु पर्ने आवश्यक छ।

भगवान श्रीकृष्णले सुदर्शन चक्र प्रहार गरी चोभारबाट पानीको निकासा बनाई काठमाडौं उपत्यकालाई मानववस्ती योग्य बनाएको विषयवस्तुलाई गौण बनाइको पाइन्छ। यो इतिहास माथिको अन्याय हो। इतिहासलाई अन्याय नभई अनुसन्धानका आधारमा न्याय प्रदान गर्नुपर्ने हुन्छ। यहाँ श्रीकृष्णबाट निर्माण गरिएको उपत्यकाको विकासक्रमका बारेमा खोतल्ने प्रयास गरिएको छ। इतिहाससँग सरोकार राख्ने विभिन्न विश्वविद्यालयमा रहेका अनुसन्धान विभाग र इतिहासका जानकार व्यक्तिहरूले यथार्थ वस्तुस्थिति स्थापित गर्नुपर्ने हुन्छ। यस विषयमा नेपाल सरकारका अनुसन्धान निकायहरू सक्रिय छन् वा छैनन् ? प्रस्तुत गर्न लागिएको विषय तर्क सम्मत नहुन पनि सक्दछ। यदि प्रस्तुत विषयहरू नमिलेमा प्रमाण र तर्कका आधारमा आफ्नो मत ऐतिहासिक दस्तावेज र प्रमाण सहित प्रस्तुत गर्न अनुरोध गर्दै भगवान श्रीकृष्णको सुदर्शन चक्रबाट उपत्यकाको विकास भएको विषय स्थापित गर्न चाहन्छु।

प्रथम पक्ष:-
भौतिक रुपमा उपत्यकाको वरीपरी रहेका डाँडाकाँडाबाट अतिवृष्टीका कारण भूक्षय हुँदै जम्मा भएको माटोका कारण माटोको सतह बढ्दै र पानीको सतह घट्दै जाँदा उपत्यका बस्न योग्य भएको।

द्वितीय पक्ष :-
बौद्ध परम्परा अनुसार चीनबाट घुम्दै आएका मञ्जुश्रीले उपत्यकामा ठूलो तलाऊ रहेको देखे। खड्गद्वारा चोभारको डाँडोलाई काटी मानव बस्न योग्य बनाएका थिए भन्ने मत स्थापित भएको।

तृतीय पक्ष :-
यहाँ स्थापित गर्न खोजिएको विषयका आधारमा भगवान श्रीकृष्ण आफ्ना ग्वाला र गोपिनीका साथ उत्तरापन्थ हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरेको विषय श्रीमद्भागवतसँग मिल्दोजुल्दो मात्र नभई यथार्थ रुपमा विषयगत चित्रण र वर्णन पनि गरिएको छ। स्पष्ट रुपमा प्रमाणहरू हुँदा किन यो विधालाई अगाडि बढाइएन ? किन ऐतिहासिक विषयवस्तुलाई समेट्ने प्रयास गरिएन ? उपत्यका विकासमा श्रीकृष्णको योगदानको पुष्ट्याँइलाई प्रस्तुत श्लोकहरूबाट अगाडि बढाउन उचित देखिन्छ।

एकदा देवयात्रायां गोपाला जातकौतुकाः ।
अनोभिरनडुद्युक्तैः प्रययुस्तेम्बिकावनम्।।
तत्र स्नात्वा सरस्वत्यां देवं पशुपतिं विभुम्।
आनर्चुरहर्हणैभक्त्या देवीं च नृपतेम्बिकाम्।।
– श्रीमद्भागवत

भागवत् दशमस्कन्धको चौंतीसौं अध्यायमा वर्णित विषय अनुसार भगवान श्रीकृष्ण नन्दबाबा, दाजु बलराम, गोपी र ग्वालाहरूका साथ व्रजबाट देवयात्राका लागि उत्तर दिशामा रहेको अम्बिका वनमा पुग्नु भयो। डाँडै – डाँडाको बीचमा रहेको विशाल सरोवर अती सुन्दर र मनमोहक थियो। उक्त सरोवरलाई सुदर्शन चक्रले चोभार भन्ने ठाउँमा भेदन गर्दा त्यहाँ भएको पानीले निकाशा पायो र सुन्दर भूमिमा परिणतहुन पुग्यो। पशुपतिनाथको दर्शनका लागि आउनु भएका श्रीकृष्ण उत्तर दिशाबाट बग्ने वाग्मती / सरस्वती नदिमा स्नान गर्न पुग्नुभयो। भगवान शिव र अम्बा / गुह्येश्वरीको विधिवत् पूजा गरी शिवप्रीतिका लागि ब्राह्मणहरूलाई गाई, सुवर्ण, वस्त्र, मधु र मीठामीठा अन्न – अनाज दान गर्ने काम गर्नु भयो। शायंकालीन समयमा वाग्मती / सरस्वती नदीको जल ग्रहणका साथ उमामहेश्वरको उपासना गर्नु भयो ।गोपी – गोपिनीहरू नामसङ्कीर्तनमा रमाई रहेको समयमा नन्दबाबा सर्पबाट ग्रसित हुनपुगे ।

विशालकाय सर्पबाट ग्रसित भएका नन्दलाई देखि भयवित बनेका गोपी र ग्वालाहरूले कृष्णको पुकारा गर्नथाले। नन्दबाबालाई घाँटीमा च्याँपेको देखि क्रुद्ध बनेका कृष्णले उक्त सर्पलाई खुट्टाले हान्ने काम गर्नुभयो। कृष्णका पाउको स्पर्शले सर्प दिव्य मनुष्यको रुप धारणा गर्न पुग्यो। सुन्दर स्वरूप त्यो व्यक्तिले हात जोड्दै बिन्ती बिसाउन थाल्यो। आफ्नो अपराधका कारण अंगिरादि गरिएका ऋषिहरूले शाप दिएर आफू विद्याधर सुदर्शन बाट सर्प हुन पुगेको कुरा बिन्ती बिसाए। सर्प रुपमा रहेका विद्याधरको भगवान श्रीकृष्णको स्पर्शले उद्धार हुन गयो। भगवानको अनुग्रह प्राप्त भएपछि सुदर्शन पूर्ववत् अवस्थामा आइपुगे। यसैगरी उधुम मचाई रहने शंखचूर्ण नाम गरेको सर्पलाई उद्धार गरी शीरमा रहेको मणि आफ्ना दाजु बलरामलाई दिने काम गर्नुभयो। मानव जीवनलाई क्षति नपुर्याउने शर्तमा अभयदान पाएका अन्य नागहरू शंखचूर्ण, मणिचूर्ण, शेषनाग, टौदह, नागदह आदि गरिएका ठाउँमा गई बस्नपुगे, यसको सम्बन्ध उपत्यका वरिपरिका पहाड र तालतलैयासँग जोडिन पुगेको छ। भागवतको चौंतीसौं अध्यायमा वर्णन गरिएका विषयवस्तुहरू नै उपत्यकासँग सम्बन्धित छन्।

सुदर्शन चक्रको प्रहारका कारण उपत्यकाको पानी बगे पछि तलाऊ उर्वर भूमिमा परिणतहुँदै चरिचरन सहित मानववस्तीका रुपमा विकसित हुनपुग्यो। मेषपाल, महिषपाल, गोपाल जस्ता वंशहरू स्थापित हुन पुगे। उत्तरापन्थको भ्रमण र अम्बा सहित पशुपतिको दर्शन पछि फर्किने क्रममा दक्षिण दिशामा रहेको दक्षिणकाली, फर्पिङमा पुग्नुभयो । उत्तर तर्फको हराभरा उपत्यकाले ग्वालाहरूलाई आकर्षित गर्न पुग्यो। भगवान कृष्णलाई ग्वालाहरूले यहीं क्षेत्रमा आफूहरू बस्नपाए हुनेथियो भन्ने आशयको बिन्ती बिसाएपछि बसाइका लागि अनुमति प्राप्त गरे। स्वयं गोपालबाट गोपालवंशीहरूको बस्ती बसाल्ने काम भयो र यिनीहरू नै गोपालवंशीका नामबाट स्थापित हुनपुगेको प्रसङ्ग नेपाल महात्म्यबाट पुष्टि हुन पुग्छ।

नेपाले दुर्लभक्षेत्रे कृष्णेन स्थापितं स्वयम्।
गोपालेश्वरनामानं ये द्रक्ष्यन्ति कलौयुगे।।
तेषां तुष्टो मुररिपुर्विष्णुलोकं प्रयच्छति।
– नेपाल महात्म्य

शिवशक्ती विराजित, देवताहरूको देवस्थल, ऋषिमुनिहरूको तपस्थल, योगाभ्यासीहरूको योगस्थल , पवित्र भूमि सुन्दर आफैंमा अगम्य रहेको क्षेत्रमा भगवान श्रीकृष्णले गोपालाहरूको नामबाट संवोधन हुनेगरी गोपालेश्वर शिवको स्थापना गर्नुभयो। गोपालेश्वर महादेव कलियुगका आराध्य र संरक्षकका रुपमा स्थापित हुनेछन् , जसको पूजा गर्नाले वैकुण्ठलोक प्राप्तहुने विषय बताइएको छ। यसरी भगवान गोपालले स्थापना गरेको हुनाले शिवको नाम गोपालेश्वर रहन गयो। उपत्यकाको उर्वर भूमीबाट लालायित बनेका ग्वालाहरूले यतै बस्ने चाहना प्रकट गरे। कृष्णको अनुमति पछि केही गोपालहरू यतै बस्नपुगे। उपत्यकाको भ्रमण पछि बाँकी रहेका ग्वाला सहित भगवान श्रीकृष्ण व्रजमा जाने काम गर्नु भयो।

प्रद्युम्नश्चापि सन्तुष्टः पितृभक्तिसमन्वितः
शिवनारायणनाम्ना स्थापयामास यत्नतः।।

– नेपाल महात्म्य
कालान्तरमा भगवान श्रीकृष्णका पितृभक्त पुत्र प्रद्युम्न पनि पशुपति र अम्बाको दर्शन गर्न यो क्षेत्रमा आई दर्शन गरी फर्किने क्रममा उक्त क्षेत्रमा शिवनारायणको प्रतिमा स्थापना गरी गरिमा बढाएको विषय नेपाल महात्म्यमा बर्णन गरिएको छ। उपत्यकाको दक्षिण तर्फ रहेको फर्पिङमा गोपालेश्वर महादेव कूलदेवताका रुपमा बिराजमान रहेका छन्। यसरी माथि उठाइएका विषयवस्तुहरूलाई केलाउँदा काठमाडौं उपत्यकाको निर्माणमा वासुदेवका छोरा कृष्णको भूमिका रहेको विषय पुष्टिहुन आउँछ।

प्रस्तुत विषय उचित भए नभएको बारेमा श्रीमद्भागवत, नेपाल महात्म्य लगायतका विषयहरू अध्ययन र अनुसन्धान गरी यथार्थपरक इतिहासका साथ उपत्यकाका रचनाकार भगवान श्रीकृष्णसँग जोडिएको विषयवस्तुलाई झल्काउने र जीवन्त इतिहासलाई जोगाई राख्नका लागि चोभार क्षेत्रमा चक्रधारी भगवान श्रीकृष्णको विग्रह मूर्ति स्थापना र विषयसँग सम्बन्धित सामग्री संकलन र संरक्षण गर्दै महत्वपूर्ण मतलाई पुनः स्थापित गर्नु आजको आवश्यकता भित्र पर्दछ। यो विषयमा सम्बन्धित निकाय र यस क्षेत्रको विकासमा लागेका संघसंस्थाहरूले आफ्नो उपलब्धिलाई जोगाई राख्नु अनिवार्यपक्ष भित्र पर्दछ। प्रस्तुत विषयमा आफ्नो अमूल्य बिचार प्रस्तुत गर्न अनुरोध गर्दै सत्य र तथ्यका आधारमा बनेको इतिहास जोगाउनका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षणका लागि यहाँहरूबाट पहल हुने नै छ।

-श्रोत:-श्रीमद्भागवत/नेपाल महात्म्य/अमरकोश

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *