खेतमा धान पाक्यो नि ! केशव थापा

विचार/ब्लग

केशव थापा…        खेतमा धान पाक्यो नि !

दालभात डुकुको जोहो गर्दै उच्चशिक्षा पनि हासिल गर्ने ध्येय बोकी वि.सं. २०३८ सालतिरै कोमल काठमाण्डौं भासिएको थियो । ऊ काठमाण्डौंमा रहँदा हरेक हप्ताको शुक्रबार, दशैं ,तिहार, भ्याएसम्म जन्ती,मलामी र निर्वाचनका समयमा नियमितरुपमा जन्मस्थलमा नै उपस्थित हुन्थ्यो । ती उपस्थिति सप्रयोजन हुने भएकोले अन्य विषयतिर चासो कमै दिन्थ्यो । तिसवर्षे सेवा अवधिको कारण जागिरबाट निवृत्त भएको, कोभिड–१९ को कारण साँझ बिहान भट्टयाउने कलेजहरु पनि बन्द भएका र सन्तानको सुन्दर भविष्यको लागि सकेजति घोटिएर हाड खियाएका मातापिताको उमेर असीभन्दा माथि भएकोले २०७६ चैतदेखि ऊ गाउँमा नै बसोबास गर्दै आइरहेको छ । अढाई वर्ष पुगेकी दिनदेखि नै उसको खोकिलाेमा ढुक्कले निदाउने गरेकी चारवर्षीय नातिनी अति मिस गरेको तिर्खा मेटाउन सूचना–प्रविधिको क्षेत्रमा भएको विकासको सहारामा प्रिय नातिनी र मित्रहरुसँग नियमित साक्षात्कार गर्ने गर्छ ऊ। लामोसमय तामझामयुक्त सहरको बासिन्दा उसलाई मित्रबिछोडले नियास्रिएर बस्नु परेको छैन । यो बसाइँले उसको निकटको हितैषीको र स्वार्थको लागि कोमलजी भन्ने को? त्यो पनि पहिल्याउन सहज भएकोछ । निकै निकटका ठानिएका सुयोग्यहरु राज्यले पत्याएर गरेको पुर्ननियुक्तिले राजकीय काममा व्यस्त भएर होला उसलाई सम्झना गर्न भ्याएका छैनन् । उसले पनि उनीहरुको अर्काे सगरमाथाको शिखर चुम्ने महाअभियानमा बाधा पुर्‍याउन हुन्न भन्ने ठानी घण्टी नबजाई बसेको छ । ठूलाले सम्झे उच्च मानवीय गुण हुने र सानाले झिजोले चाकरी हुने र जति अग्लो सगरमाथा चढे पनि एकदिन झर्नुपर्ने तथ्य उनीहरुलाई विद्यावारिधीको प्रमाण-पत्र दिने विश्वविद्यालयले त सिकाएन नै होला । विद्वान महोदयहरुले जीवन-पाठशालाबाट पनि सिक्न भ्याएका रहेछन् यो शिक्षा ।

जति याद नगरुँ भने पनि आफू सुरक्षित स्थानमा बसेर थालभरि भुटेको मकै र किनेको डेरीको मोही खुवाएर उसलाई खतराक्षेत्रमा जुध्न उक्साएको, आफूलाई सरपर्दा उसको आगो उक्लने वाणीलाई नरम बनाउन र उहाँहरुलाई अभरपर्दा आवश्यक नै नभएको अवस्थामा पनि अति कडा शब्दमा पर्चा मस्योैदा गर्न उक्साएको चाहिं ऊ घरिघरि सम्झिरहन्छ । उसले मनमनै कामना गर्ने गरेको छ – सेवा निवृत्तिपछि टेक्ने धर्ति, ओड्ने आकाश र जल्ने चित्ता एउटै नभएर ती नितान्त फरक नै हुने अहङ्कार मृत्युको पलसम्म ती ठूला भएकाहरुमा छाइरहोस् ।

प्रारम्भमा कोमलको आगमन र बसाइँमा संशय गर्ने डाँडापाखा, खेतबारी, बालसखाहरु उसँग अलिअलि आश्वस्त हुन थालेका छन् । तर त्यही ठाउँमा हिजो उसँगै निरङ्कशविरुद्ध इन्कालब गरेका उसले आफूलाईभन्दा बढी माया र श्रद्धा गर्ने गरेका जेष्ठ, समवयी तथा कनिष्ठहरु भने ऊ सक्रिय राजनीतिमा प्रवेश गरेर उनीहरुको भाग हर्ला कि भनी शङ्काले जलेको तथ्य मुहारले नबोले पनि आँखाले भने कताकता दर्शाएको देख्छ। हो त्यस्तै शङ्कालुहरुले पिठ्यूँपछाडि उसको न्वारान गरेर नयाँ नाम दिएका छन् –टुरिष्ट । हेरौं, समयले उसलाई टुरिष्ठ बनाउँछ वा रैथाने ?

काठमाण्डौमा रहँदा पनि ऊ दिनहुँ परेवालाई चारो दिन्थ्यो। अति तिर्खाएको बेला एकथोपामात्र पनि पानीले पंक्षीको प्राण रक्षा हुन्छ भन्ने सुनेदेखि जुजुधौको भिउटमा दिनदिनै पानी फेरिदिन्थ्यो । हरेक प्रात:यो उसको नित्यकर्म नै थियो । ऊ गाउँ आएको पहिलो बिहान छतमा परेवा देखा परेनन् । बिहानै परेवा देख्ने अादत परेको उसलाई ननिको लाग्यो । उसले मनमनै परेवा आए पनि हुन्थ्यो सोचिरहन्थ्यो। नभन्दै दोश्रो दिन दुई जोडी र त्यसपछि बढ्दैबढ्दै दर्जनौँ परेवा बिहान ६ बजे अगावै उसको छतमा माघुर घुर गर्दै पखेटा फट्कार्न थाले । परेवाको हुलले उसको वृध्द बाआमा पनि खुसी हुनुभयो । हुँदाहुँदा परेवाको हुलमा केही थान जोडी ढुकुर पनि मिसिएर सँगसँगै चारो खान थाले । यो क्रम जारी नै थियो । तर असोज महिनाको आधाआधीबाट परेवा र ढुकुरको आगमन एकाएक बन्द भयो । छतमा छरिएका अनाजदाना वेवारिसे हुनथाले । ऊ आ–आ गरेर जोडले कराउँथ्यो तर पंक्षी आगमनको कुनै शुभसङ्केत मिल्दैनथ्यो । तेस्रो दिन बिहानै उसले जिज्ञासावस आमालाई सोध्यो– आमा! किन होला परेवाहरु आउनै छाडे त ? कुकुरको भौ–भौले हो कि ? आमाले सहजै भन्नु भयो– फाँटमा पाकेकोधान झुलेर पहेंलपुर भएको छ । अनि कहाँबाट आउँछ त परेवा ? अब परेवा आउन त खेतमा धान निख्रनुपर्छ ।

आमाको कुरा सुनेर ऊ तीनछक्क पर्‍यो। त्यति सानो पंक्षी बथान मिलेर धान पहेंलिएपछि खेतको गरा, डिलमा झरेको धानको गेडा टिपेर खान जान्छ । हामी मानिसलाई दुःख दिँदैन । तर, विवेकशील, प्राणीमध्येको सर्वाेत्कृष्ट भन्ने गरिएको र हातखुट्टा, दिमाग सबै ठिकठाक भएको हामी मानिस दल, नेता, दूतावास, राष्ट्रिय/अन्तर्राष्ट्रिय कम्पनीवालाहरुको अङ्गालोमा कसिएर पाएसम्म आर्यघाटमा नपुन्जेलसम्म पनि एक्लै भाग स्यार्हान दौड्छौं । अर्कालाई ताछेर खान पाउँदा गर्व गर्छौं । अनि अर्काथरि पनि छौं हामी– ती अवसरवालाहरुले चुसेर फ्यालेको हड्डी अर्काे साथीले देख्ला कि भनेर पोल्टामा लुकाएर घर पुगी मालिको जय भन्दै स्वादले चुस्न थाल्छौं । द्वन्दवादी स्कूलमा दीक्षित उसको मनमा अनायसै अर्को जिज्ञासा पैदा भयो खेतमा धान पाक्यो भन्दैमा भेटिने उत्साहले हातमा चारो लिएर उभिने मनुवालाई अवसर पाएको ‘मेधावी’ ले प्रयोजन सक्किइसकेको ‘बोधो’ लाई बिर्से झैँ ती परेवाले पनि कसरी चटक्कै भूलेका होलान् ? मनमनै उसले चित्त बुझायो – लामोसमय मानिसको सङ्गतमा रहेपछि त्यस्तो प्रवृत्ति परेवा पनि सर्दो हो, सायद ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *