निःशुल्क स्यानिटरी प्याडले खुशीको मुहारमा खुशी छाएपछि……

बिशेष

काठमाडौँ । कक्षा–११ को अध्ययनको प्रतिक्षामा वसेकी आस्मा पोख्रेल ज्ञानोदय माध्यामिक विद्यालय, बाफलकी छात्रा हुन् । आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा धेरै छात्रा सहभागी थिए । सहभागी मध्येकी पोख्रेल पनि एक थिइन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गर्दैगर्दा पोख्रेलको मुहारमा खुशीको भाव नाचिरहेको प्रष्ट देखिन्थ्यो ।

काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड

त्यसो त काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबै छात्रा र महिलाले निकैबेर ताली बजाए र खुशी साटासाट गरे । कार्यक्रममा सहभागी पोख्रेललाई ‘विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ भैरहदाँ कस्तो महशुस भएको छ ?’ भनी प्रश्न गर्दा उनले कक्षा–कक्षामा स्यानिटरी प्याड वितरण गर्ने सरकारको कार्यको खुलेर प्रसंशा गरिन् । ‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ उनले भनिन्, ‘विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको तितो अनुभव छ । अब यो सकारात्मक प्रयासले त्यस्तो बाध्यताको अन्त्य हुने र छात्राहरुलाई सहज हुने अपेक्षा गरेका छौँ ।’

रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नः मेयर शाक्य

पोख्रेलको जस्तै अनुभव छ, सृसा रावलको पनि । ‘विद्यायमै यसरी निशुल्क प्याड वितरणको व्यवस्था हुनु सबै छात्राका लागि खुशीको कुरा हो,’ रावलले भनिन्, ‘महिनावारीकै कारण विद्यालय आउन अप्ठयारो हुने, रजस्वला हुँदा विद्यालय नै अनुपस्थित हुनुपर्ने बाध्यता थिए । अब त्यसको अन्त्य भएको छ ।’ रजस्वला हुँदा हिनताबोध महशुस गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने उनले अपेक्षा गरिन् । ‘निशुल्क प्याड वितरणपछि सबै छात्राहरुमा नियमित विद्यालय आउने र अध्ययन गर्ने परम्पराको थानली हुनेसमेत अपेक्षा गरेका छौँ,’ उनले भनिन् ।

कार्यक्रममै सहभागी खुशी जोशीले पनि विद्यालयमा निशुल्क प्याड वितरण गर्ने कुरा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरिन् । ‘ज्ञानोदय विद्यालयमा यसरी निशुल्क स्यानिटरी प्याड वितरण गर्ने कुराले म मात्रै होइन रजस्वलाको समय भएका र रजस्वला भैरहेका सबै छात्राले खुशीको महशुस गरेका छन्,’ उनले भनिन्, ‘पहिलाको अवस्था हेर्ने हो भने रजस्वलाको समयमा शिक्षकहरुसँग खुलेर कुरा गर्न सक्ने अवस्था थिएन । अहिले ठाउँ–ठाउँमा मेसिनहरु राखिएको छ । अब रजस्वला भयो भन्दै हिनताबोधसहित शिक्षकसँग विदा माग्नु पर्ने अवस्थाको समेत अन्त्य भएको छ ।’ उनले यस्तो व्यवस्था दुर्गमका विद्यालयमा समेत हुनुपर्ने सुझाव दिइन् ।

रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नः मेयर शाक्य

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्नुनहुने बताउनुभयो । ‘हरेक घरमा महिला छन् । महिला नभएको घर हुँदैन । उनीहरुलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उहाँले उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘घरमा कोही रजस्वला हुँदा उनीहरु कमजोर हुन्छन् । त्यो बेलामा उनीहरुको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने सकारात्मक पाटो हो । तर, चार दिन मेरो काम गर्ने पालो, उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहार पनि हुने गरेका छन् । यसलाई परिवर्तन गर्नुको अर्को विकल्प छैन ।’ उहाँले पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगतीलाई छाडिरहने हो भने पुस्तौसम्म यस्तै परम्परा रहिरहने बताउनुभयो । ‘यस्तो परम्पराको अन्त्य नगर्ने हो भने झन जरा गाडेर बस्छ र समाजलाई अघि बढ्न दिदैँन,’ उहाँले भन्नुभयो, ‘समाज परिवर्तन गर्ने हामी सबैको दायित्व हो । समाज परिवर्तनका लागि अठोट पनि चाहिन्छ ।’ उहाँले सामूदायिक विद्यालय सुधारमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

विद्यालयका प्र.अ. नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताउनुभयो । उहाँले त्यही बाहनामा छात्राहरु विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताउनुभयो । उहाँले यो चेतना जगाउने कार्यक्रम भएको पनि बताउनुभयो ।उहाँले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरुलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिनुभयो । उहाँले भेन्डिङ मेसिन र डिस्पोजल मिसिन पनि खरिद गरेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *