-फणीन्द्र नेपाल,अध्यक्ष ,ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
राष्ट्रसंघीय सुरक्षापरिषद्को अस्थायी सदस्यताका लागि केही दिनमात्र पछि हुन लागेको निर्वाचनमा इन्डियालाई मत दिने भनी गरिएको प्रतिबद्धताले नेपालको कूटनीति कति कमजोर रहेछ भन्ने साबित भएको छ । यस प्रसङ्गले मालिकसँग नोकर लामो समयसम्म रिसाइरहन सक्तैन , बरु मालिकसँग कतिबेला के गर्दा सम्बन्ध झन् प्रगाढ हुन्छ , ऊ त्यसको खोजीमा हुन्छ भन्ने थप चरितार्थ भएको छ ।
परराष्ट्रका कुनै एक कथित उच्च अधिकारीले नेपालले यो निर्वाचनमा तटस्थ रहनु वा विपक्षमा मत हाल्नुको कुनै अर्थ रहँदैन भन्नु इन्डियाफोबिया सिवाय केही होइन ।नेपाल-इन्डिया सीमा वार्ताको नेपाली रटान संवादहीनताबाट गुज्रिरहेको बेला सुरक्षा परिषद्को सदस्यताको प्रत्याशी इन्डियालाई मत दिने प्रतिबद्धता दोहोर्याएको भन्नु `आ बयल मुझे मार´ भनेर इन्डियालाई निम्ता दिनु हो या त उसका फोहोरी खुट्टामा पशुपतिनाथको चन्दन लाएको निधार टेकाउनु हो । तर नोकर सिर्फ नोकर हो , ऊ मालिकका खुट्टामा कहिल्यै फोहोर देख्तैन , बरु कचौरामा तेल लिएर मालिसको समय पर्खिरहेको हुन्छ ।
संसारमा लम्पसार कूटनीतिको विकल्पमा दबाबको कूटनीति पनि हुन्छ , जुन नेपालको परराष्ट्र मन्त्रालयलाई थाहा त छ तर यसो गर्ने थोरै साहस पनि ऊ गर्न सक्तैन । होइन भने नेपालसँग कोरोनापछि वार्तामा बस्छु भन्ने तर चीनसँग भने कोरोनाको बीचमै घुँडा टेकेर वार्तामा बस्ने र अस्ट्रेलियासँग रणनीतिक वार्ता गर्ने इन्डियाको दोहोरो चरित्र देख्ता देख्तै सुरक्षा परिषद्मा उसलाई मत दिएपछि इन्डियाले केपी शर्मा ओलीका हातमा कालापानीको किस्ती राखिदिनेछ भनेर सोच्नु साँढेका पछि लागेको स्याल बन्नुमात्रै हो ।
देशको भूभाग लुटाएर इन्डियाको दूतावासमा ङिच्च गर्दै सन्ध्याकालीन भोज खान जान अलिकति पनि लाज नमान्ने गतिछाडाहरूले भन्ने गरेको `कूटनीति´ नेपाली जनता झुक्याउने झूटनीति मात्रै हो ।के गर्नु , इन्डियालाई दबाबमा राख्न हातमा आएको एउटा सुनौलो मौकाको लज्जास्पद र शर्मनाक अवसान हेर्नुसिबाय तपाईं-हामीसँग अरू कुनै विकल्प छैन, किनभने राज्यसत्ता यिनै धुन्दुकारीहरूसँग छ ।
सुरक्षापरिषद्को आगामी निर्वाचनमा यदि नेपाल तटस्थ मात्रै बस्ने हो भने हाम्रो अडान थप मजबुत हुनुका साथै अन्तर्राष्ट्रिय रूपमा नेपालको स्वाभिमान पनि मुखरित हुने थियो ।