प्रहरी संगठनको श्रीवृद्धिका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुको सहयोग र सक्रियता आवश्यक : प्रहरी महानिरीक्षक क्षेत्री

प्रमुख समाचार

काठमाडौं ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर प्रहरी संगठनको हितका लागि संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भई कार्यान्वयन गर्दै संगठनको श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरी कर्मचारीको सहयोग र सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

समस्याबाट भागेर होइन समस्यासँग जुधेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै प्रहरीमहानिरीक्षक थापा क्षेत्रीले वर्तमान अवस्थामा नेपाल प्रहरी सामू रहेका विविध चुनौतीहरु समाधानका लागि सबै प्रहरी कर्मचारीहरुलाई पूर्ण सहयोगीको रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो । आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङकन ऐन कानूनमा निर्दिष्ट एवम् वरिष्ठता तथा तथ्याङकको आधारमा हुने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरुले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै त्यसका लागि सुपरिवेक्षण तहमा खटिने प्रहरी अधिकृतहरु समेतले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी, प्रहरी जस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्ने हुन्छ भन्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो व्यवहारलाई सुधार गर्दै संगठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै प्रहरी कर्मचारीहरुको वृत्तिविकास एवम् कल्याणकारी योजनाहरु बारेमा संगठन सदैव क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी कर्मचारीहरु व्यावसायिक रुपमा व्यस्त हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यालय प्रमुखहरुले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको दैनिक कार्य संचालन तथा वृत्ति विकासप्रति संवेदनशील हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । संगठनले लिएको उद्देश्य पूरा गर्न प्रत्येक प्रहरी कर्मचारीहरु मानसिक एवम् शारीरिक रुपमा स्वस्थ्य हुनुपर्ने उल्लेख गर्दै व्यावसायिक रुपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सकेमा प्रहरी कर्मचारीहरु मानसिक रुपमा स्वास्थ्य हुनसक्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

देश र नागिरकका खातिर आफ्नो कर्तव्य पालनाको शिलशिलामा जीवन उत्सर्ग गर्नुहुने वीर अमर प्रहरीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको शिलशिलामा घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको हितका लागि अग्रज प्रहरीहरुले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *