बज्यैको टोपी :- हेमराज अधिकारी

बिशेष विचार/ब्लग

✍️बज्यैको टोपी :- हेमराज अधिकारी- सिक्किम

म होटेलबाट निस्केर अल्याङ – टल्याङ गर्दै यता उता गर्थें,नयाँ ठाँउको आनन्द लिन्थें,मेरा प्रत्येक पाइलामा बज्यैले आशावादी भएर मलाई हेर्थिन,उनको टोपी किन्न कोहि पनि ग्राहक आएका थिएनन् । छेवैमा चियाको पसल रहेछ । लामो बेन्चिमा यात्रुहरू बसेर ब्ल्याक टि,प्लेन टि कफी,पान सिगरेट खान्थे । बज्यैको प्रत्येक दृष्टिले मलाई पनि उनको टोपी पसलमा आकर्षण गराइरहेको थियो । आखिर म बज्यैको छेउमा गएर मुस्कुराउनु थालें । बज्यैले सोधिन् । ” बाबु एउटा टोपी लाउनु,परदेशबाट किनेको चिजबिजको महत्त्व हुन्छ,बाबुको लवज देख्दा त दार्जिलिङ सिक्किमको जस्तो देखिनु हुन्छनी ” । बज्यैको अड्कल देखेर म चकित भएँ । हेर्दा त पचहत्तर -असि जस्तो उमेरको देखिने तर उनको अनुभव र अनुमान सहि थियो । मैले उनलाई “कसरी ठम्याउनु भयो मलाई दार्जिलिङ -सिक्किमको भनेर ” सोधेँ । उनले एकै श्वासमा भनिन् । ” ए बाबु यो स्थानमा बसेको पैत्तिस बर्ष भयो,म मान्छेको पाइला र गन्धबाट जान्दछु,तपाईं पहाडी मान्छे हो,आएको बेला लानु होस टोपी । गाउँमा अरुहरुलाई पनि यसो हातको स्वभाव दिनुहुन्छ । कुन लानु हुन्छ ” ? । मलाई टोपी भन्दा बज्यैको उमेर सोध्न उत्सुकता भयो । कुरै कुरामा उमेर सोधेँ । उनले चार कोरि दुइ बर्ष भनिन् । भनेपछि बज्यै त बयासी बर्षकि रहिछन् । मलाई त्यो बेलुका आखिर काँकडभिट्टा बस्नु थियो,बिहान चार बजेको गाडी देखी हलेसी धाम जानु थियो । समय कट्नि हुने,बज्यै संग आराम पुर्वक गफ गर्न थालें । एउटा अनुभव र अभावको बिशाल बृक्ष संग म उम्रदैको तिन पाते बुट्टो । बज्यैको कुराले म दङ्ग परें । मेरो हलेसी यात्रामा एउटा कहिल्यै नबिर्सने रोचक अनुभुति । एउटा कल्प बृक्षको जिबन दर्शन ।

“यो नेपाली गोर्खालीहरुले आफ्नो जातीय टोपी शिरमा लाउनु लाज मान्छन् । अहिले त जम्मै पश्चिमि सभ्यता र संस्कृतिले ओतप्रोत छन् । टिमिक्क परेको जिन्स लाउनु पाए भइ गयो । मेरा श्रीमान् लाहुरे थिए । तर ऊनी घरमा आउँदा नेपाली टोपी जातीय पोसाक लाएर गाउ शहर घुम्थे । ए बाबु । यो पन्जाबिले आफ्नो फेटा शिरमा घुमाइ – घुमाइ लाँउछन्,यो इस्लामी धर्मका ब्यक्तिहरु दाह्री पालेर हिंड्छन् ,मस्जिद जाँदा टोपी अवस्य लाँउछन्,चाहे ठुलो होस् या सानो तर हाम्रो मान्छे त जातीय पोसाक लाउन किन अन्कनाउनु ? फेरि नि बाबु, यो हाम्रो मान्छेले आफ्नो विवाह भोज भतेरमा धरी त्यै अंग्रेजी पत्लुन लाएर हिंड्छन्,हाम्रो जमानामा त यस्तो थिएन,बाबु – बाजेको डर थियो । आजकलको बुहारिहरु पोते सिंदुर लाउनु पनि अन्कनाउछ,छोरी होकि बुहारी नेपाली परम्परा विलय हुने देख्दैछु नानी म त । हामी त बर्को बाँध्नु पर्थ्यो,सासु-ससुरा,जेठाजुको छेउमा शिर ढाक्नु पर्थ्यो । खोइ यो त समय परिवर्तन भएको होकि मान्छे परिवर्तन । तपाईंको पहाडमा त अझै कति परम्परा जिवन्त छ होला तर हाम्रो तराई त सत् चुर्ण हुदैछ । सबै जातिले आफ्नो पोसाक लाएकै छन् । लुङ्गी लाउने तपाईंको भारतको त्यो उपराष्ट्रपति भयो होईन अन्त? के हो त त्यो गान्तोकको चिस्यानमा पनि धोतिमै आएको थियो त । हामीले टिभीमा हेरेको । अन्त धोती लाउने मन्त्री त तपाईंको देशमा अनगिन्ती छ,हाम्रो त खोइ के भन्नु र ? सुजो न बुजो तेस्का बाजेको टाइ लाउँछ । गाइ बाँध्नेको छोराले । अनि ए बाबु ! त्यो तपाईंको देशमा गंगा नदिको बचाउमा हडताल गर्ने त्यो कुन्नी के साधुनी पहेंलो जोगि बस्त्र धारण गर्ने हेर्नु त त्यो मन्त्रीनि हुदा पनि आफ्नो पोसाक त छोडनु कुरै छैन ? हाम्रा उरन्ठेउला किन बौलाहा भएका । अनि नानी टोपी चै कुन लाउने ? लाएर हेर्नुस् ” भन्दै बज्यैले मेरो काखमा टोपी फ्याक्दा म झसङ्ग भएँ ।

म बज्यैको कुरामा कहाँ पुगिसकेको थिएँ । म को हुँ,कहाँ जाँदैछु,बिर्से । मैले बज्यैलाई यो सम्पुर्ण देश विदेशको जानकारी कहाँबाट पाउनु हुन्छ भनेर सोधेँ । बज्यैलाई नातिनातिनाले भन्दा रहेछन् । नातिनातिनाले पढाएर बज्यैलाई आफ्नो नाउँ समेत लेख्न सिकाएका रहेछन् । बज्यै भन्दै थिइन् । ” बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँध माथी, म आफ्नो कमाइ र परिश्रमले बाँचेकी छु । मलाई यो उमेर सम्म कसैले पाल्नु परेको छैन । बुढाको पेन्सन आउछ,नातिनातिना पढ्छन । घर चलेको छ । मैले टोपी बेचेर कमाएको पैसाले दुइ कट्ठा माटो किनेकी छु । अब कुन दिन मरिन्छ टुंगो छैन,एउटा शिव मन्दिर बनाउने धोको छ । ए नानी खोइ त टोपी किनेको ” ??

म किकर्तब्यबिमुढ भएँ । बज्यैको कुराले । मैले टोपीको दाम सोधेँ । नेपाली सात सय रुपैया गोटा,मैले पाँच वटा किनें । बज्यैको ओठमा मुस्कान थियो । आँखा रसाएका थिए । एउटा मन्द ज्योति उनको कान्तिमय अनुहारमा म पढिरहेको थिएँ । वीर नेपाली,गोर्खाली बिरंगनाको रूपमा बज्यैलाई पढ्दै थिएँ । टोपी बोकेर हिंड्न् लाग्दा बज्यैलाई नमस्कार गरें । बज्यैले दुवै हात मेरो शिरमा राख्दै भाग्यमानी भएस बाबु भनिन् । टोपीको पोको बोकेर होटेलमा आएँ । राती अबेरसम्म निन्द्रा परेन । अब टोपी लाएर रम्फु छिर्ने बेलामा ” ओ दाइ, नागरिकता देखाउ त ” भनेर सोधपुछ गर्लान् कि जस्तो लाग्यो । हाम्रो मानसिकता कम्जोर छ । भोलिपल्ट बिहान चार बजे मेरो हलेसिको बसमा यात्रा सुरु भयो । टोपी बेच्ने बज्यै मेरो आँखामा नाचिरहेकी थिइन् । धुलाबारी,चार आलि,बिर्तामोड,दमक जता नजर लगाए पनि मेरो आँखाले बज्यैको एउटा लामो भोगाइको जिबन दर्शन देखिरहेको थियो । मैले झोलाबाट टोपी झिकेर आफ्नो शिरमा लगाएँ । बसको खलासीले पनि ढोकाबाट भन्यो । “लाउनुन दाइ,साह्रै सुहायो ” । मैले फोनको क्यामेरा आँफुतिर फर्काएँ । आहा मलाई त झिल्के देखिरहेको थियो । मैले मन मनै सम्झेँ । बज्यैको आयु सय बर्षको होस् । 🙏❤️ ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =