बन्दाबन्दीमा बढ्दो महिला तथा बालिकामाथिको हिंसा, ६१ प्रतिशत हिंसा घरभित्रबाटै

बिशेष

काठमाडौं । नेपाल सरकारले पटक–पटक बन्दाबन्दीको समय अवधि थप गरि महामारीका रुपमा फैलिएको संक्रामक रोगबाट सुरक्षित र स्वास्थ्य राख्ने प्रयास गरेको छ । तर हाम्रो जस्तो पित्तृसत्तात्मक सामाजिक मूल्यमान्यता हावी रहेको देशमा महिला तथा बालिकामाथि हिंसा हुनका लागि यस विपदको अवस्थाले पनि वातावरण सिर्जना गरेको छ । जसका कारण महिला तथा बालिकालाई हिंसापूर्ण वातावरणमा बाँच्न बाध्य बनाएको अवस्था विभिन्न तथ्याङ्कहरुले पुष्टी गर्दै आएको छ ।

ओरेकले यस बन्दाबन्दीको समयमा ५१ वटा जिल्लाहरुमा ६२४ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाएको छ । बन्दावन्दीको समयमा संकलन भएका हिंसाका घटनाहरु मध्ये सबैभन्दा बढी ६१ प्रतिशत अर्थात ३७९ जना महिलाहरु आफ्नै श्रीमान र परिवारका सदस्यहरुबाट हिंसा भएको तथ्याँकले देखाएको छ ।

अभिलेखिकरण भएका घरेलु हिंसाका घटना मध्ये २२९ वटा शारीरिक हिंसा र ८३ वटा मानसिक हिंसाका घटना रहेका छन् । जुन घटनालाई हेर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाउने, गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने तथा चारित्रिक आरोप लगाई दैनिक रुपमा शारीरिक तथा मानसिक यातना दिएको पाइएको छ । यसैगरी ६७ जना महिलाहरुलाई खान लाउन नदिइ घर निकाला गरी वेवास्ता गरिएको (५४), विवाह दर्ता, बच्चाको जन्मदर्ता, नागरिकता नबनाइदिएको (१० जनालाई), स्वास्थ्य सुविधावाट बञ्चित गर्ने (३ जनालाई) जस्ता आवश्यक स्रोत सुविधाबाट बञ्चित गरिएको पाइएको छ । घरेलु हिंसाका घटनामा २८६ जना श्रीमान र ८३ जना परिवारका सदस्य संलग्न रहेको पाइएको छ ।

त्यस्तैगरी ६१ वटा सामाजिक हिंसा, ८२ वटा बलात्कार, १९ वटा बलात्कारको प्रयास, २३ वटा यौन दुव्र्यवहार, १२ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २७ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र ११ वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

हिंसा प्रभावितहरुको उमेर समूहलाई हेर्दा सबैभन्दा बढी १८९ जना १७ देखि २५ वर्ष उमेर समूहका महिलाहरु हिंसाबाट प्रभावित भएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ बर्ष उमेर समूहका १७६ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ८६ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका ७२ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ९१ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका १० जना हिंसाबाट प्रभावित भएका छन् ।

यस्तै, हिंसामा संलग्न आरोपित व्यक्तिहरुको उमेरको आधारमा हेर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका २११ जना युवाहरु रहेका छन् । यसैगरी १५३ जना ३६ देखि ४५ बर्ष उमेर समुहका, १२६ जना १७ देखि २५ वर्ष उमेर समुहका यवाहरु रहेका छन् र ८३ जना ४६ बर्षभन्दा माथि उमेर समूहका पुरुषहरु रहेका छन् । साथै उमेर समुह थाहा नभएका पुरुषहरु ७० जना र ३ जना १६ वर्ष भन्दा कम उमेरका युवाहरु हिंसामा संलग्न भएको पाइएको छ । यो तथ्याकंका आधारमा ३५ वर्ष सम्मका ३४० जना युवा हिंसामा संलग्न रहेको पाईएको छ । यो उमेर भनेको उत्पादनशील कार्यमा संलग्न हुने ः उच्च शिक्षा हाँसिल गर्ने, व्यवसाय तथा रोजगारीमा संम्लग्न हुने, सामाजिक विकास र समसामयिक सवालमा नेतृत्व लिने उमेर समुह हो । समाजको वर्तमान र भविष्यको प्रतिबिम्वित रुप हो तर यहि समुह यसरी अपराधजन्य कार्यमा सक्रिय रहँदा यसले हिंसा गर्ने व्यक्तिमा मात्र नभएर समग्र देशको विकासमा नै असर पार्दछ । यसर्थ सानैदेखि पुरुषलाई लैगिंक समानता, अरु व्यक्तिको पहिचान र अस्तित्वलाई स्वीकार गर्ने, सम्मान गर्ने लगायतका व्यवहारिक शिक्षा प्रदान गर्ने, परिवारमा हिंसात्मक वातावरणलाई अन्त्य गर्ने, हिंसालाई लुकाउने भन्दा पनि कानुनी दायरामा ल्याउने, कुनै पनि हिंसा प्रभावितलाई दोषि देख्ने दृष्टिकोणलाई परिवर्तन गर्ने र दण्डहिनताको स्थितीको अन्त्य गर्ने वातावरणको तयार गर्नु आवश्यक रहेको छ ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये ३२९ जना प्रहरीमा उजुरी दर्ताका लागि गएका छन् । तर प्रहरीमा उजुरीका लागि निवेदन लिएपनि मुद्धा दर्ताको प्रक्रियामा नगएको, केश दर्ता भएपनि बन्दावन्दी खुलेपछि मात्र केशको प्रक्रिया अगाडी बढ्ने विषयमा सम्बन्धित निकायले भन्ने गरेको, घरेलु हिंसाका घटनामा निवेदन लिएपनि छलफल गराएर मात्र छाडिदिने गरेको पाइएको छ । जसले गर्दा हिंसा प्रभावितले न्याय प्राप्त गर्ने वातावरण सुनिश्चित हुन सकेको छैन । यस्ता क्रियाकलापले हिंसा प्रभावितको मनोवल घट्ने र पीडकको मनोवल बढेको पाईएको छ । यसैगरी ७० वटा घटना मेलमिलाप समितीमा गएको र समितीबाट यस अवस्थामा तपाइँहरु मिलेर बस्नुस् भन्दै छलफल गरी मिलापत्र गरेर पठाइएको अवस्था छ । यसैगरी ८८ जना महिलाहरु हिंसा सहन नसकेर आमाबुवाको घर÷ आफन्तकोमा आश्रय लिन गएकोमा पारिवारीक तथा सामाजिक दबावका कारण पुनः श्रीमान्को घर फर्किएका छन् । २८ जना हिंसा प्रभावित महिला तथा वालिकाले ओरेकको सुरक्षा आवासबाट रहि सुरक्षावास तथा अन्य आवश्यक सेवा लिएका छन् ।

संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ५३९ र ४४७ हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी जम्मा ९८६ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =