माखा बजार  सिक्किम – हेमराज अधिकारि 

विचार/ब्लग

माखा बजार  सिक्किम – हेमराज अधिकारि

इतिहासमा माखा सिक्किमको पुरानो बजार मध्ये एक भए पनि आफ्नो पुर्पुरो र भाग्यले सधैं ठगिएको,हेपिएको,थिचिएको,मिचिएको,पिसिएको नाउँ हो माखा । यो माखामा प्रत्येक चुनावको मुखमा झन्डै बेहुली बजार भएको,झन्डै जन्तर -मन्तर बनिसकेको हो । कुरै कुरामा माखा सबैको आँखामा ब्याप्त छ । मैले जिन्दगीको पहिलो रोटे पिङ,पहिलो माघे मेला,पहिलो गम्बुट किनेको,पहिलो जुत्ता किनेको,पहिलो लाबरे पेटि किनेको,पहिलो पल्ट जुलबी किनेर हाङराले पाङ्ग्रा निले जस्तो निलेको,घरको अदुवा -अलैंची चोरेर खुसु-खुसु बेचेको,काजी साह्बको भासण,पौडेल साह्बको भासण,भण्डारी साह्बको,चामलिङ साह्ब देखी थुप्रै साह्बको भासण छाद्नुजेल सुनेको ठाँउ हो माखा । यो माखाको निधारमा बिकास आउँदा आउँदै झन्डै तुमिनको रामायण भिलेज पनि गएको थियो तर कसो कसो हुँदा त्यो राजनैतिक गोटि फेरि तुमिनमै बस्नेभो ढुक्कले भाले ढुङ्गा जस्तै । जनता सोझो भएपछि नेताले घुमाउन सम्म घुमाउछन,दाँइमा गोरु घुमाए जस्तै । हामीलाई पनि हो न हो साह्रै घुमाए,माखालाई घुमाए जस्तै फन्फनी । भन्नलाई ब्रिटिस किङ vi कुन्नी के जर्ज माखा आएका थिए खाम्दोङबाट ओरालो घोडचढी मार्ग भएर भनेर माखा बजार देखी पुरानो जलेवा पुल नियाँ तर्ने कुनेटोमा टासेको छ बोर्ड अहिले पनि । कुरा बुझ्नु यहाँ के छ भने यो ढाँट ढुटे राजनीति चैं ब्रिटिसको पालोदेखी चलि आएको रहेछ । बुधबारे हाट माखाको बिर्सिनसक्नुको थियो उतिबेला देखी । अहिलेको दस माइलमा दोकान कम्ती चल्थ्यो,रक्सी पिएर मान्छे खुबै झगडा गर्थे हामी केटाकेटी हुदा । इज्जत जाने कुरा गरिस भन्नुहोला तर खै यो माखाको इज्जत बचाउने काम आज सम्म भएको भए माखाको निधार अर्कै हुन्थ्यो । राम लीला माखामा आउँदा हामी घरदेखी हिडेर गएर हेर्यौं । हनुमान र रावण देख्दा अब जिन्दगी टुंगिएछ हाम्रो लु मरियो भन्दै माखा बजारदेखी भाग्दै माथी फाटक पुगेको अहिले जस्तो लाग्छ,समय कति छिटो बितेको ? हामी बुढा हुदैछौं । मैले पहिलो बिजुली बत्ति बलेको माखामै देखेको । भैंसीले छाँगो हेरेझैं गरेर रातभरि हेरेको छु चिसो रातमा ।

माखा देखी दक्षिण जोड्ने नियाँ माङ्जिङ जाने जलेवा पुल भएर याङगाङ देखी बुधाबारे हाटमा भिड जम्थ्यो । यता तनक पुल देखी लिङ्गी लिङ्मो, सोक्पे, जङगु तथा मंगन,लाचा लाचुङ देखी भिड जम्थ्यो । “हरेक माल तिस रुपैया,तिस रुपैया” भनेर बेपारी उफ्रन्थे माखामा । जय बंगालको सुरुवाललाई । जे भएपनी गाउँलेको साग सिस्नु,सिमल तरुल,गट्टा भ्यागुर,दाल,फर्सी,फिलुङ्गे बिक्री हुन्थ्यो । खाकिको हापेन्ट कमिज कम्ती सस्तो थिएन । माखामा बिश्वास थियो,भरोसा थियो,आत्म सन्तुष्टि थियो । त्यो दस माइल देखी तनक पुग्ने सडक कार्पेटिङ गर्न एउटा युग लाग्यो । नेतालाई ढोग्दा ढोग्दै कतिजनाको कम्मर भाँचियो । माखा धन्न त्यतिको भयो । त्यो पनि मुस्किल थियो । जनता भेला गरेर ताली बजाउने ठाँउ मात्र बनाउनु हुँदैन । आस्था रावतको गितमा धेरैजसो नाचेका छन् माखामा । फ्यामस स्यालिब्रेटिहरु आए तर आफ्नो गाउँ फ्यामस बनाउनु चैं राम्रो हो ।

अब जनताले माखाको बुधबारे हाट खोज्नुपर्छ,माघे मेला ल्याउनुपर्छ । म स्वयं समेत संबंधित क्षेत्रको निर्वाचित प्रतिनिधि हो तर हामिमा भएको सिमित फन्डले ठुलो कार्य सम्पादन गर्न सम्भव कमै हुन्छ । हामीले दोषारोपण गर्यौं भने फेरि कुन दिन माखामा गोरु घुमाएर दाँइ गर्न कुन चै आउछ तसर्थ एकजुट भएर आधुनिक माखाको निर्माण गरौं । भौतिक रूपमा माखाले पाउनुपर्ने नैसर्गिक अधिकार अनेक छन । हाम्रो बजार माखा बजार । हाम्रो सान हाम्रो गौरव । माखा बजार अमर रहोस् 🙏 धन्यवाद ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =