मुक्तिक्षेत्रका मुक्तिनाथ – डा जगमान गुरुङ

बिशेष विचार/ब्लग

डा जगमान गुरुङ ।।मुक्तिक्षेत्रका मुक्तिनाथ।।
बाह्रभाइ मष्ट, नौ बहिनी र तिनका मामा लामा- विष्णु खस संस्कृतिका मुख्य पूज्य देवताहरु हुन्। सम्पूर्ण खस र अधिकांश बाहुनहरुको कुलदेवता मष्ट हुन्।
एउटै देवतालाई लामाको रूपमा पनि मान्ने र विष्णुको रूपमा पनि मान्ने हुनाले एउटै देवताको लामा- विष्णु नामकरण गरिएको हो।लामा भन्नाले लामा बौद्धमार्गी देवता र विष्णु चाहिँ विशुद्ध वैदिक देवता हुन्।
यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध मत अनुसार अति श्रद्धाका साथ मानिने फाग्प च्यङरे सि- आर्यावलोकितेश्वर हुन्। बौद्ध धर्म अनुसार भगवान् शाक्यमुनि बुद्धले महापरिनिर्वाण लिए पछि भविष्यका बुद्ध मैत्रेयले अवतार लिनु भन्दा अघिको यस अवस्थामा लोकको पालन गर्ने दायित्त्व पद्मपाणी बोधिसत्त्वलाई दिएको छ।पद्मपाणी बोधिसत्त्वले यस जगतलाई करुणाको दृष्टिले अवलोकन गरेको हुँदा पद्मपाणी बोधिसत्त्व आर्यावलोकितेश्वर- फाग्प च्यङरे सि कहलाए।
फाग्प च्यङरे सि- आर्यावलोकितेश्वरले सुर, असुर, नर, तिर्तकयोनि पशु, प्रेत र नरक यी षट्प्राणीलाई दु:ख्बाट मुक्त( डोल्व) गराउँदछ।यसरी भगवान् विष्णु र आर्यावलोकितेश्वर- फाग्प च्यङरे सिको बीचको लोकको पालन र मुक्तिको अवधारणाका बीच सामन्जस्यता भएको हुँदा एउटै देवतालाई लामा- विष्णुको रूपमा मानिएको हो।
कर्णालीको लामा- विष्णु मतले गण्डकीमा आए पछि मुक्तिनाथको रूप लिन्छ।मुक्तिनाथलाई हिन्दूहरु भगवान् र बौद्धहरु फाग्प च्यङरे सि मान्दछन्। मुक्तिनाथको मन्दिरमा भोटेनी झुमा पूजारी र सुवेदी ब्राह्मण पुरेतका रूपमा रहेकाछन् ।भगवान् मुक्तिनाथको काखमा चढाएको भेटी जति भोटेनी झुमाले पाउँछन्। गोदान गरेको रकम र टीका लगाएर दिएको दक्षिणा जति बाहुन पुरेतले पाउँछन्।
मुक्तिनाथक्षेत्रका घर र गुम्बा जति सबै मुण्डा खालका छन् तर मुक्तिनाथको मन्दिर भने नेपाल उपत्यकाका नेवार कालिगडहरुले विकाश गरेको तल्ले शैलीको छ।
मुक्तिनाथदेखि दखिनतिर नजिकै लुब्राकमा बोन गुम्बा अवस्थित छ।लुब्राकको बोन गुम्बा मनाङ, मुस्ताङ, डोल्पा र लमजुङका पुरातनवादी गुरुङहरुको श्रद्धाको केन्द्र हो।यसरी मुक्तिक्षेत्रमा बोन, बौद्ध र हिन्दूहरुको समन्वय पाइन्छ।
मुक्तिनाथप्रतिको जन भावना, त्यहाँको पूजारी परम्परा, मन्दिरको वास्तुशैली र त्यहाँको तीर्थयात्रामा जाने तीर्थालुहरुको मानसिकताले समन्वयात्मक अध्यात्मवाद, सर्वाम्नायतन्त्र र समन्वयात्मक नेपाली संस्कृतिको अनुपम नमूना प्रस्तुत गर्दछ।नेपाली संस्कृतिमा अन्तरनिहित यही समन्वयको भावना नै नेपाली राष्ट्रियताको आधार र नेपाल राष्ट्रको प्राणतत्त्व हो।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *