राम जन्मभूमिबारे प्रधानमन्त्रीको बिशेष चासो : माडीमा भव्य मन्दिर बनाउन निर्देशन

प्रमुख समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए ।ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उपप्रमुख महतोले उल्लेख गरिन्।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।-रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *