काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गर्ने, मनोबल गिराउनेकार्यमा संलग्न तथा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने कार्यमा संलग्नहुनेलाई कारवाहि गर्ने चेतावनी दिएको छ ।
पछिल्ला केही दिनहरुमा संक्रमण बढ्दो रुपमा रहेको तथ्याङ्कबाट देखिएको भन्दै गृहले यसबाट सुरक्षित रहनको लागि सवैले आफ्नो आफ्नो क्षेत्रबाट स्वास्थ्य सम्बन्धी सुरक्षा सर्तकता अपनाउनु आवश्यक रहेको बताएको छ ।
यस कठिन क्षणमा पनि सुरक्षा सर्तकताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसीरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामुहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होईन । नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न नेपाल सरकारले नेपाल राज्यका सवै प्रमुख जिल्ला अधिकारीहरुलाई आदेश दिएको छ ।
आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानून बमोजिम सजांय हुने गृहले जनाएको छ । यसलाई बेवास्था गर्दै गरेमा कानून बमोजिम हदैसम्मको सजांय हुने बताईएको छ ।