श्रावण संक्रान्ति र लूतो फाल्ने दिनको महत्व

विचार/ब्लग

 विष्णुप्रसाद पोखरेल

आज श्रावण संक्रान्ति र लूतो फाल्ने दिन ।साउने संक्रान्तिबाट प्रारम्भ भई पुस मसान्तसम्म ६ महिना सूर्यको गति दक्षिण दिशा तर्फ चालयमान हुने भएकोले यस समयलाई दक्षिणायन भनिन्छ।

कण्डारकपूजा / लुतो फाल्ने –
कण्डु – कण्डयने – कण्डयति =कनाउँछ ।
गात्र विघर्षणे – शरीरलाई घर्षण गराउनु , चिलाएको ठाउँमा कनाउनु।
कण्डारकसुराधीश…

लुतो, खटिरो, पीलो आदि चर्मजन्य रोग नलागोस् भन्नका लागि राक्षसहरूका लुते मालिक कण्डारकको पूजा गरिन्छ। मानव शरीरमा मन्द विष छर्ने भएकाले उनलाई प्रसन्न पार्नको लागि पूजा गर्दै आफ्नो अनुकूल बनाउनु पर्दछ। । कण्डारक नाम गरेको दैत्य जिवाणु स्वरुपमा घाउ खटिरामा प्रवेश गरी शरीरलाई चिलाई दिने काम गर्दछ। शायंकालीन समयमा लूतोफाल्नका लागि आवश्यक सामग्रीहरू विभिन्न फल, कुरीलो , भलायो , सर , उन्यु , सिरु काँडाजन्य वनस्पतिहरू दाउरासँग बाली शंख , घण्ट, ढिंकी, जाँतो, नाङ्लो, भाँडा – कुँडा बजाई गाउँलेहरूलाई पुकार्दै लुतो फाल्ने गरिन्छ।

वर्षा ऋतुमा अत्यधिक वर्षाका कारण पानीका मुहानहरूबाट धमिलो पानी बग्ने र झाडापखाला लगायतका चर्मजन्य रोग लाग्ने सर्प, बिच्छी, गंगटा, जुका, पिउसा आदिले टोक्दा छालामा विविरा, डाबर आदि रोगका कारण महामारी समेत फैलन सक्ने भएकोले माथि भनिएका वनस्पतिहरू बाली आगो ताप्नाले ती रोगबाट संक्रमण नभई आरोग्यता प्राप्त गर्न सकिने विश्वास गरिन्छ। रोग – व्याधि नलागोस् भन्नका लागि परिवारका सबै सदस्यहरूको नाममा चारै दिशामा अगुल्टो बाली फाल्ने काम गरिन्छ। आध्यात्मिक तथा भौतिक उपचारका माध्यमबाट मानव शरीरलाई आरोग्यता प्रदान गर्नु यस पर्वको महत्वपूर्ण पक्ष हो।

 अहिले आएर पछिल्लो समयमा आयुर्वेदको उपचारात्मक पद्धति तर्फ समाज उन्मुख भएको बेलामा आरोग्य शास्त्र जनित विषय वस्तुलाई थप अनुसन्धान गरी अगाडि बढाउन सकेको अवस्थामा यसबाट समाजले धेरै फाइदा लिन सक्दछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *