सन्दर्भ :- नागपञ्चमी

विचार/ब्लग

 विष्णुप्रसाद पोखरेल

नमोSस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ।
येSअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।।
– शुक्लयजुर्वेद

ती सर्प / नागराजहरूलाई नमस्कार छ। जो पृथिवी, अन्तरिक्ष र स्वर्गमा व्याप्त छन्।

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।
कुलीरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकीर्तिताः।।

प्रकृतिका पूजक हिन्दूहरूले प्रकृति जन्य संरचनामा रहेका देव-देवी, पशु – पंक्षी , ढुङ्गा – माटो, वृक्ष – वनस्पतिहरू ईश्वरकै सृष्‍टिका आधारमा ईश्वरीय भावलाई मनन् गर्दै ईश्वरीय शक्तिका रुपमा पूजा गर्दछन्।

यस्तै भाव प्रधानका आधारमा प्राकृतिक सन्तुलन कायम गर्ने कर्कट – गँगटो, वृश्चिक – बिच्छी, सरिसृप – नाग – सर्प आदि घर्षण गरी हिंड्ने विषधारीहरूलाई विशेष पूजा गरिन्छ।

श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको मन्दिर , ईनार , कुवा आदि जलाशयमा पूजा गर्नुका साथै नाग लगायत बिच्छी, गँगटो आदिको विभिन्न आकारमा चित्रहरू कोर्दै घरको ढोका माथि गाईको गोबरले टाँस्दै कपास, दूबो, पैसा टाँसी विधि पूर्वक नागहरूको पूजा गर्दै लावाका साथ दूधको धारा दिने गरिन्छ।

गाईको गोबरमा रोगलाई समन गरी निरोगिता प्रदान गर्ने औषधीय गुण भएकोले गोबरले लिपपोत गर्नु , पञ्चगव्यमा मिलाउनु, चित्रहरू टाँस्ने जस्ता कार्यहरूमा प्रयोग गरिनुले यसको आध्यात्मिकता र आरोग्यता प्रदान गर्ने वैज्ञानिक पक्षलाई उजागर गर्दछ। विद्युतीय तरङ्गको प्रभाव कम गराउन सक्ने क्षमता भएका उभयचरमा बस्ने, घर्षण गरी हिंड्ने सरिसृप प्राणीहरूमा अधिक मात्रामा तरङ्गीय क्षमतालाई रोक्न सक्ने सामर्थ्य हुन्छ।

मानव कल्याणका लागि सर्पबाट विष दोहन गरी विभिन्न प्रकारका औषधीहरू निर्माण गरिन्छ। मानव जीवनमा आई पर्ने अति वर्षा, भूक्षय, चट्याङ र चट्याङ्बाट घर जोगियोस्, विषादीको दोष नलागोस् भन्नका लागि यी परोपकारी नागहरूको पूजा गरिन्छ। प्राकृतिक सन्तुलन कायम गरी नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा परिणत गराउने हुनाले यिनीहरूको संरक्षण र पूजन गर्नु हाम्रो समृद्ध साँस्कृतिक पक्ष हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *