हत्या

विविध

-नारायणप्रसाद न्यौपाने

हिजोआज यहाँ
समाजका प्रत्येक गल्लिमा
मान्छेको शरीर पनि
अत्यन्तै सस्तो भो,
बजारमा बेच्न राखेको खजाना
दाल, चिनी र आलुभन्दा सस्तो
भवराले चुमेझैं फूलको रस
कागतीको खोस्टो मिल्काएसरी
चुसेर मिल्काउन मिल्ने
कुनै सार नभएको
मूल्यहिन मान्छे
एउटा जडजस्तो ।

हिजोआज समाजमा
जसले जसलाई प्रयोग गरे पनि
स्वार्थै मात्र हेर्ने जिन्दगी,
कुकुरले हड्डी चुसेर फ्याकेझैं
स्वाद हुन्जेल लिए भो,
धित मरुन्जेल पिए भो
अनि, फ्याक्नै पनि मिल्ने
कति सस्तो छ जिन्दगी
मानवता नै हराएको ।

विभिन्न पुराणका पात्रहरुको
कथा, व्यथा पढेको सुनिन्थ्यो,
देवगण र राक्षसगण भन्दै
एकले अर्कोप्रति
अस्तित्व नै अस्वीकार गरेको
एकले अर्कोलाई निषेध नै गरेको
अनि, हत्या र हिंसा गर्दै
आफ्नो मात्र पेट भरेको
शायद, कली नै आएर होला ?
अनि, शुरिएरै पनि होला
मान्छेको मूल्य हराएको ।

आज, प्रत्येक दिन
गाउँ–गाउँ र बस्ती–बस्तीबाट
मान्छेहरु हराएका छन्
जताततै लिलाम भएका छन्
हत्या, हिंसामा रोमल्लिएका छन्
बलात्कारका घटना सहज भएका छन्
मूलाको चाना काटेझैं
गाउँ शहरका बस्तीमा
खसी, बोका काट्नै छोडी
मान्छेले मान्छे काटेका छन्
अति सस्तो भो, मानवमूल्य ।

आजभोलि समाजमा
कानुनका दफाहरु थन्किएको छ
नीति, नियम नै हराएको छ
थितिलले मान्छे बाँधिनै सकेन
जसको शक्ति उसको भक्ति भो,
अनि, मान्छेले मान्छे किनिदियो
नीति, नियम खोसिदियो
र त मान्छे सस्तो भो ।

नीतिको डर भए पो
मान्छे मान्छे बन्दछ,
थितिको त्रास भए पो
मान्छे लगाममा बाँधिन्छ,
त्यसैले त हिजोआज मान्छे
लगाम बिनाको घोडाजस्तो भई
हत्या र हिंसा बढाएको छ
अपराधीहरु जन्माएको छ
अनि, त प्रत्येक बस्तीमा
मानवमूल्य नै हराएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *