- 🇺🇳🇳🇵 santosh khaderi—
आज १४-डिसेम्बर।
६५ बर्ष अघि सन् १९५५ मा आजैका दिन नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको हो। सन् १९४९ को फेब्रुअरीमा मोहन शमशेर नेतृत्वको राणाकालीन नेपालले पहल थालेको ६ बर्ष पछि सन् १९५५ डिसेम्बरमा प्रजातान्त्रिक नेपालमा मात्र यो सफल भयो। शीतयुद्धको प्रभावले शोभियत ब्लकको बारम्बारको भिटोले त्यतिबेला हामी लगायत धेरैलाई अप्ठ्यारो पार्यो।
१४-डिसेम्बर-१९५५ का दिन बेलुकी ४ बजे बसेको सुरक्षा परिषद को बैठकबाट सर्वसम्मतिले नेपाल सहितका १६ राष्ट्रको नामावली स्वीकृत गरि दशौं महासभामा पठाउने निर्णय भयो। सोही दिन बेलुकी ९ बजे राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको दशौं महासभाको ५५५ औं सत्रमा सुरक्षा परिषद का अध्यक्षले महासभाका अध्यक्षलाई सम्बोधन गरि पठाएको पत्र अनुसार आवेदक नयाँ राष्ट्रलाई सदस्यता प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरे। सो प्रस्तावमा नेपाल माथी महासभामा छलफल भई मतदान हुँदा नेपालले कुल ५७ मध्ये ५७ मत नै प्राप्त गर्यो। सोही दिन अन्य कतिपय मुलुक माथी मतदान हुँदा केहीको विरुद्धमा र केही अनुपस्थित रहेको मत नेपालको हकमा भने सर्वसम्मत भयो।
यता नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको उपलक्ष्यमा संसारभरका मित्र राष्ट्रहरुबाट नेपाललाई बधाईको ओईरो नै लागेको थियो। २५ पौषमा तत्कालीन राजा महेन्द्रले नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको उपलक्ष्यमा शाही बक्तब्य नै जारी गरि हर्ष प्रकट गर्दै त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै अर्को दिन २६ पौषमा नेपालका तत्कालीन परराष्ट्रसचिव नरप्रताप थापाले रेडियो नेपालबाट एउटा बक्तब्य जारी गर्दै संयुक्त राष्ट्रसंघको उद्देश्य र आवश्यकता पारे प्रष्ट पारेका थिए।
२६-मार्च – १९५६ का दिन संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपाल सहित नव प्रवेशी सदस्य राष्ट्रहरुको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्ने क्रममा सोही दिनमा नेपालको राष्ट्रिय झण्डा समेत राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा यसरी फहराईयो।
तस्वीर श्रोत:- संयुक्त राष्ट्रसंघ अभिलेखालय।